हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चित वाइल्ड लाइफ फोटोग्राफर बन्छन् ।
यता वास्तविक जीवनमा २४ वर्षका सदिश पुनलाई इन्जिनियरिङ पढ्न पारिवारिक दबाब भने थिएन । फरहानजस्तै उनले इन्जिनियरिङ ड्रप आउट गरेर आफ्नो इच्छाको बाटो हिँडिरहेका छन् । सिधैभन्दा सदिश सामाजिक कार्यमा लागेका छन् । विगत ७ वर्षदेखि उनी मानवसेवा आश्रममा स्वयंसेवकको रूपमा कार्यरत छन् ।
समाजले चित्रण गरेको भाष्यमा बसेर उनले आफैँले रोजेको विषय इन्जिनियरिङ थियो । पढाइमा राम्रै रहेका उनले कक्षा १२ मा साइन्स पढे अनि स्नातक तहमा इन्जिनियरिङ । बागलुङमा १२ कक्षा उत्तीर्ण गरेपछि थप पढाइका लागि उनी चितवन पुगेका थिए । तर, कोरोना महामारीले घरभित्रै थुनिए । उनी नजरबन्दजस्तो भए । आफूलाई बुझ्न घोत्लिन थाले । त्यहीबाट उनले आफ्नो इच्छा सामाजिक सेवामा रहेको बुझे । ‘लकडाउनले धेरै असर गर्यो । रुममै बस्ने सोच्ने जति सबै कुरा सोचियो । इन्जिनियरिङ मेरो फिल्ड होइन भनेर सो विषय ड्रप आउट गरेँ । यसपछि आश्रममा नै टोटल्ली लागेँ,’ उनले सुनाए ।
‘इन्जिनियरिङ छोडेर पूर्ण रूपमा मानव सेवामा लाग्नुमा थ्री इडियट्स फिल्मको पनि हात छ । त्यो फिल्म अझै पनि हेरौँ लाग्छ । कुनै पेशामा लागेर पश्चाताप गर्नुभन्दा पहिले नै आफूले चाहेको कुरामा रोजे प्रेसर फिल हुँदैन,’ उनले भने, ‘समय घर्किएपछि पछुताउनु भन्दा विषय परिवर्तन गरेर इच्छाएको काम गर्न मन लाग्यो ।’ विसं २०७६ मा पोखरा आए । लेकसिटी कलेजमा स्नातक पहिलो वर्ष भर्ना भए । सोसल वर्क विषय लिएर पढे । बसाइ भने पोखराको मानव सेवा आश्रममा भयो ।
सामाजिक कार्यमा लागेको मन
कक्षा ११ को परीक्षा दिएर खाली बसेका थिए सदिश । बागलुङ बजारमा सित्तल हिरोजले एउटा कार्यक्रम गर्दै थिए । त्यो साथीका दाइहरूले गरेको कार्यक्रम थियो । के रहेछ जाउ न भनेर उनी पनि पुगे । अनाथ बालबालिकासँग बस्न, खेल्न स्वयंसेवकको रूपमा केही समय बिताए ।
‘अनाथहरूलाई पैसा दिएर सहयोग गरेर मात्र हुँदैन भन्ने मलाई लाग्यो । यसर्थ उनीहरूलाई इमोसनल्ली साथ दिने थालेको हुँ । बिग ब्रदर वा सिस्टर बन्न सकिन्छ भन्ने खालको प्रोग्राम थियो । कार्यक्रममा पाएको डायरी र बिस्कुटसमेत उनीहरूलाई दियौं,’ उनले स्मरण गरे ।
यसले सदिशलाई झनै भावनात्मक रूपमा परिवर्तन गरायो । उनलाई त्यसरी नै काम गर्न मन लाग्यो । आवश्यक पर्ने कसलाई सहयोग गर्न सकिन्छ भने उनले बुझे । त्यत्तिकैमा कसैले भर्खर मानव सेवा आश्रम खुलेको सुनाए । त्यो बेला आश्रमलाई काम गर्ने मान्छे चाहिएको पनि उनले थाहा पाए । यसपछि उनी स्वयंसेवकको रूपमा आश्रममा जोडिए । काम गर्ने थाले । यतिसम्मकी उनी चितवन जाँदा पनि मानव सेवा आश्रममा नै बसे ।
घर जैमनी नगरपालिका भए पनि सदिश सानैबाट सदरमुकाम बागलुङ बजारमा हुर्किए । उनका बुवा तत्कालीन जिल्ला समन्वय समितिमा थिए । अहिले अधिकृत स्तरमा नगरपालिकामा कार्यरत छन् । पढ्दा पढ्दैको छोराले अधिकांश समय आश्रममै बिताउँदा बुवा–आमालाई चिन्ता लाग्यो । ‘जोगी नै बनेर हिँड्छ कि’ भन्ने डर पैदा भयो । तर, सदिशले परिवारलाई आफ्नो कामबारे बुझाए ।
‘बाबा–आमाले पहिला–पहिला छोरा त जोगी हुने भयो । घरपरिवार नै छोडेर जाने भयो सोच्नुहुन्थ्यो । यसैले पढ्नुपर्छ, केही गर्नुपर्छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘मैले मलाई पाँच वर्ष समय दिनु, बुझ्नु हुन्छ भनेर सम्झाएँ ।’
मानव सेवा आश्रमअन्तर्गत सदिशले अहिले कास्कीको पूरै जिम्मेवारी सम्हालेका छन् । पढाइ पनि उनले निरन्तर अघि बढाइरहेका छन् । स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत छन् उनी । यद्यपि, अहिले पनि उनको अधिकांश समय आश्रममै बित्छ । आफूले उद्धार गरेका मानिसमा आउने परिवर्तन देखेर उनलाई आनन्द महसुस हुन्छ ।
‘विक्षिप्त मान्छेलाई उद्धार गरेर ल्याइएको हुन्छ । उसलाई पारिवारिक प्रेम वातावरण दिइन्छ । औषधि–उपचारपछि त्यो मान्छेमा जुन परिवर्तन आउँछ त्यो देखेपछि आफूलाई आनन्द अनुभूति हुन्छ,’ उनी सुनाउँछन्, ‘त्यो भावनात्मक परिदृश्यले मलाई लाग्यो– यो पो हो त लाइफ !’ पैसा कमाउने हिसाबले आफूले कहिल्यै समाज सेवा नगरेको उनी स्पष्ट पार्छन् । त्यसैले पनि आफूमा सौखिनका धेरै इच्छा–आकांक्षा नरहेको उनको भनाइ छ ।
सदिशको जीवन नै यतिन्जेल आश्रममा बितिरहेको छ । भविष्य पनि उनले आश्रममा नै देखिरहेका छन् । आश्रमबाट टाढा रहन परे पनि सामाजिक क्षेत्रमै लागिरहने उनको इच्छा छ ।
‘आश्रम आइसकेपछि यति धेरै कुरा सिकेँ–जाने कि, बाहिर गएपछि जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सर्भाइभ गर्न सक्छु,’ उनी भन्छन्, ‘जहाँ भएपनि लाग्ने सामाजिक क्षेत्रमा नै हो ।’
किशोरास्थादेखि नै सामाजिक कार्यमा चुपचाप लागिरहेका सदिशलाई कहिलेकाहीँ नरमाइलो पनि लाग्छ । आफूले आश्रममा स्वयंसेवकका रुपमा काम गरेको, तर कसै–कसैले ‘डलरे’को आरोप लगाउँदा नराम्रो महसुस हुने उनी बताउँछन् ।
‘कसैको उद्धार गर्दा बोली–वचन लगाउँछन् । त्यस्तालाई भन्न चाहन्छे– हामी पैसा नलिइ भोलिन्टियर गछौँ । पैसा कमाउँछन्, डलर आउँछ होला भनेर आरोप लगाउँछन्,’ उनी दुःखेको पोखे, ‘यसमा सरकारी तहबाट साथ नपाउँदा नमज्जा लाग्छ ।’
सधैँ आश्रममा व्यस्त रहिरहने सदिशलाई समाजको एउटा तप्काको दृष्टिले दुःखित बनाउने त छँदैछ, उद्धार गरेर ल्याउँदा देखिएका व्यक्तिको अवस्थाले पनि उनलाई बिझाउँछ । कतिपयलाई परिवारले नै सडकमा बेवारिस तरिकाले छोडिदिएका हुन्छन् । यो कटुसत्यलाई उनले नजिकबाट नियालेका छन् । कहिलेकाँही उनलाई लाग्छ– कतै मानवता नै हराउँदै गएको त छैन !
‘कति जनालाई परिवारले नै बेवारिस छोडेर गएको बुझेका छौँ । कताकता मान्छेमा चेतना हराउँदै गएको हो कि, मानवता हराउँदै गएको हो कि भन्ने संशय लाग्छ,’ उनी भन्छन् ।

0 Comments