profile

profile
Hom Nath Timalsina ( Manavsewa )

“ परोपकारी पाठशाला ”

महाकवि लक्ष्मी प्रसाद देवकोटाको मन छुने गीत

कुन मन्दिरमा जान्छौ यात्री  कुन मन्द्रिरमा जाने हो।

कुन सामाग्री पूजा गर्ने, साथ कसरी लाने हो।

 

एउटा यात्रीलाई सम्झेर लेखेको यो गीत महाकवि देवकोटाको प्रसिद्ध गीत मध्य एक हो।यो गीतले अहिले मानवसेवा आश्रमको भावना बोकी रहेको छ।संसारका सबै धर्मको सार भनेकै सेवा, परोपकार, पुण्य, दान, करुणा, प्रेम नै  हो। १८ पुराण लेखिसकेपछि वेद व्यासले लेख्नुभएको सार परोपकार पुण्याय पापाय पर पिडनम्र हाम्रो जीवनको सार पनि त्यही हो। हाम्रो शरीरका अङ्गहरूले पनि सेवा र परोपकारलाई प्रेरणा दिएको पाइन्छ, सन्देश दिएको पाइन्छ। जस्तै शरीरमा कुनै चोट लाग्यो आँखाले आँसु बगाउँछ, दाँतमा खान अड्कियो भने जिब्रोले सहयोग गर्छ, कपालमा केही पर्‍यो, आँखामा केही पर्‍यो हातले सहयोग गर्छ।

 अनि भजन छ नि

नत नदी पिउँछन् आफ्नै जल,

वृक्ष न चाख्छन् आफ्नै फल,

आफ्नो तन मन धन अर्पेर अरूका लागि बाच्छ जो,

सच्चा मानव त्यही हो, सच्चा मानव त्यही हो।

हामी मानवको स्वरुपामा जन्मनु मात्र मानिस हुनु होइन, मानव भएर मानव भित्र हुनुपर्ने गुण, स्वभाव र आचरण पनि हुन जरुरी छ। के मानिस हुनुपर्ने गुण हामीमा हुँदै नभएको हो त ? त्यो पनि होइन तर हामीले कहिले काहीँ भौतिकता र आफ्नो स्वार्थी भावनाले बिर्सेको मात्र हो। यही बिसाइलाई सदा सम्झना लायक बनाउन हामीले केही प्रयासहरू गर्नु पर्दछ।

यही परोपकारी भावनालाई प्रेरणाको रूपमा लिई जीवन दर्शन र भोगाई लाई सहज र सरल रूपमा विकास गर्न हाम्रो चाहना हुनु पर्छ। असल कर्म र सेवा भावले हामीलाई जन्म जन्मान्तर सम्मका लागि जीवित बनाउने छ। भगवान् बुद्धको वाणी जन्म भाग्यको कुरा हो, मरण समयको कुराको तर मरण पछिको स्मरण कर्मको कुरा हो। हामी जस्तो कर्म गर्छौ त्यही रूपमा हामीलाई संसारले चिन्नेछ। हिट्लरलाई हामीले देखेका छैनौ तर कहानी हरूमा क्रूर व्यक्तिको रूपमा पढेको छौ। करम चन्द गान्धी (महात्मा गान्धी) वा बापु लाई पनि हामीले देखेका छैनौ तर करुणा वान अहिंसा वादीका रूपमा हामीले पढ्ने गरेको छौ।

एउटा जिज्ञासा मनमा रही रह्यो।

संसारकै सबै भन्दा खुसी व्यक्ति को हो ?

जसले अरूको खुसीमा मलजल थप्छ, दुखको समय आफू सँगै भएको अनुभूति गराउन सक्ने व्यक्ती खुसी व्यक्ति हुन्छ।"हामी कसैको खुसी लेख्ने पेन्सिल बन्न सक्दैनौँ भने पनि कम्तीमा उसको निराशा बेचैनी मेटाउने इरेजर चाहिँ बन्नै पर्छ।" मानिसको जीवन दुई प्रकारको हुन्छ एउटा अईसक्रिमको जस्तो र अर्को मैन बत्तीको जस्तो। पग्लिन दुवै पग्लिन्छ तर आइसक्रिमको सन्देश बाचुन्जेल हामीले मोज मज्जा सबै गर्नु पर्छ कुन दिन पग्लिएर सकिनु पर्छ थाहा हुन्छ तर मैनको सन्देश पग्लिएर सकिँदा सम्म पनि हामीले अरूका लागि उज्यालो ज्योति बनेर रहन सक्नु पर्छ त्यो नै जीवनको सर हो। धेरै मानिस म व्यस्त छु भन्ने गर्छन् तर एउटा गतिलो उदाहरण आचार्य लक्ष्मण भण्डारीले आफ्नो पुस्तक अनमोल दृष्ट्रान्तका माध्यम हामीलाई दिनुभएको छ।

एक पटक एक जना अमेरिकी पूर्व राष्ट्रपति एउटा विशिष्ट समारोहमा सहभागी हुन जाँदै थिए। उनी विशिष्ट पहिरनमा सजिएका थिए। उनको शीघ्र प्रतीक्षा गरिँदै थियो। उनी जुन बाटो भएर त्यस समारोहमा भाग लिन ज्यादै थिए,त्यस बाटोको बिचमा एउटा सुँगुर हिलोमा गाडिएर कराइरहेको थियो। ऊ उम्कन , हिलो मुक्त हुन खोजिरहेको थियो, तर उसका सम्पूर्ण प्रयासहरू खेर गइरहेका थिए।त्यो दारुण एवं कारुणिक दृश्यमाथि अकस्मात् कारमा सवार राष्ट्रपतिको नजर पर्‍यो। जब उनले त्यो गम्भीर दृश्य देखे, उनलाई असह्य भयो। उनी कारबाट तत्काल झरे र त्यो हिलोमा भासिएको सुँगुरलाई बाहिर निकाले अनि परम सुखको अनुभव गरे।   

उनी हिलाम्य् भए र विशिष्ट कार्यक्रमको प्रमुख अतिथि बन्न गए। कपडा हिलाम्य् देखेर आयोजकले कारण सोधे। राष्ट्रपतिले ढिला हुनुको कारण बताउँदै क्षमा याचना गरे। आफ्नो परम आनन्द र खुसीका लागि कर्म गरेर आए। म मेरो मनलाई दुख नहोस् भनेर गरेको कर्मका कारण धन्यवादको पात्र होइन भन्नुहुन्छ। 

हो यसै परोपकारी मानवताको भावना बोकी २०६९ सालबाट देश व्यापी मानवता प्रवर्धनको कार्यक्रम तथा सेवा गर्दै, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रको परिकल्पना साथ सुरु भएको मानवसेवा आश्रम पनि मानवता सिकाइको केन्द्र बनेको छ। प्रयोगात्मक शिक्षण स्थल बनेको छ। सातै प्रदेशको १९ जिल्लामा २४ सेवा केन्द्र मार्फत देशको ७७ वटै जिल्ला बाट सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेको छ। सेवा शुभारम्भको ११ वर्ष पुरा गर्दै गर्दा एक सामाजिक सिकाइको केन्द्र, सद्भाव, प्रेम, करुणा, दया, मायाको सिकाई स्थल बनेको छ।

यस भाद्र महिनामा मात्र भ्रमण तथा सेवाका लागि आएको विद्यालय को विवरण।

मुलपानि माध्यामीक विद्यालय बागलुङको कक्षा ६,,८ का ६० भन्दा बढी शिक्षक तथा विद्यार्थी आउनु भयो साथमा जिन्सी खाद्यान्न सामाग्री पनि ल्याउनु भयो।

धनुषा सेवा केन्द्रमा यस भाद्र महिनामा श्रीराम उच्च माध्यमिक विद्यालय (कक्षा १०) का विध्यार्थीहरुले  आफ्नो खाजा खर्च कटाई सेवामा योगदान, राजर्षि जनक क्याम्पस जनकपुर-४ आनन्द नगर बाट अवलोकन , मोडल कलेजका कक्षा १२ का विद्यार्थीहरूको अवलोकन, श्री गोगल प्रसाद नमुना माध्यमिकमा विद्यालयमा कक्षा १२ मा  अध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकाज्यूहरू सहित आश्रमको अवलोकन गर्नु भएको छ।

सर्लाहीको लालीगुराँस एकेडेमीले आफ्नो ६० जना बिध्यार्थीहरुको अवलोकन भ्रमण सर्लाही शाखामा गराउनु भएको छ।

कास्की पोखरामा सैनिक आवासीय मा.वि का विद्यार्थी भाइ बहिनीहरूले मानवसेवा आश्रम कास्कीको छोरेपाटन र हेमजा दुवै सेवा केन्द्रको अवलोकन तथा सेवा गर्नु भएको छ ।

यी माथिका केही उदाहरण मात्र हुन्। मानवसेवा आश्रमको प्राय सबै सेवा केन्द्रहरूमा विद्यार्थी वा अन्य पेसा वा सेवामा आबद्ध व्यक्तिहरूले अवलोकन गर्ने गरेका छन् यो मासिक १०००० को सङ्ख्यामा भन्दा बेसी हुने गरेको छ।

सकारात्मक सोच, सबैप्रति आदर, सम्मान, मायाको भावना भयो भने मानिस साँचो अर्थमा सुन्दर व्यक्ति बन्न सक्छ ।"मानवता के हो नजिकबाट बुझ्न जरुर छ, साथै आफूले जानेको कुरा सिकाउन, आफूले सकेको सहयोग गर्ने यस्तै कुराहरूलाई आत्मसाथ गर्दै विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले मानवसेवा आश्रम अवलोकन गर्ने गर्नु भएको छ।

 

मानवसेवा आश्रमबाट के सिक्ने ?

आमाको काखबाट मसान घाटको चिता सम्म सिकाई नै सिकाई हुनेछ। हामीले चाहेको जीवन प्राप्तिमा हामी लागिरहनु पर्छ र प्राप्ति गर्नु पर्छ। आजको यो संसारमा सबै कुरा गुगलमा पाइन्छ भन्ने भ्रममा बाची रहेका हामीहरूले यथार्थमा जीवनको भोगाई सबै भन्दा ठुलो पाठशाला हुनेछ। जन्म दिने आमा बाबा, ‍असल साथी र  अनुभवहरू इन्टरनेटमा पाइँदैन।यो हाम्रो जीवनको कमाई हो।

मानवताको पाठशालाको रूपमा विकास भइरहेको मानवसेवा आश्रमको भ्रमण पछि सिकाई गर्न सकिने विषय क्षेत्र।

१)   सेवा:

मानवसेवा आश्रममा आउनु भएको जो कोहीले यहाँको सेवालाई हृदय देखी नै बोध गर्न सक्ने छ। यहाँ रहनू भएका सेवक सेवीका, अभियन्ता परिवारले आफ्नो हृदय भावले गर्नु भएको सेवाले जीवनमा आएको आमूल परिवर्तनलाई मनन गर्ने सकिने छ। सेवा भलेको एक प्रकारको नसा हो, भावना हो, संस्कार हो। जसको संस्कारमा सेवा भरिएको हुन्छ उसले मानवसेवा आश्रमको अवलोकन पछि जीवनको नयाँ पाटोलाई देख्न पाउने छ। सक्ने अवस्था मा रहेका मात्र होइन दिसा र पिसाबमा लतपतिएका आमा बाबालाई कसरी सेवा गर्न सकिने रहेछ भन्ने बुझ्न सकिन्छ।

२)   प्रेम, करुणा:

मानिस खानको भोको भन्दा पनि प्रेमको भोको छ।खाना नखाएर मानिस केही समय बाच्न सक्छ होला तर प्रेम बिना कुनै पनि मानिस जीवित रहँदैन र जीवित भए पनि उ मरे तुल्य हुनेछ। किनकि प्रेम आशा हो, प्रेम सम्भावना हो, प्रेम ममताको  रूप हो , प्रेम सहारा हो।मानवसेवा आश्रमले यही प्रेम जन जनमा पुर्‍याउनका लागि प्रयत्न गरिरहेको छ। धन सम्पत्ति, बल, समाजमा नाम, मान सम्मान हुँदा सम्म सम्मान गर्ने, देखावटी प्रेम गर्ने बानी परेको समाजमा यहाँ आएपछि निस्वार्थ प्रेम देख्न पाइन्छ, महसुस गर्न पाइन्छ।प्रेमले मानिसलाई जित्न सकिने रहेछ। सडकमा रहँदा ४-५ जनाले समाउन नसक्ने आमा बाबा आश्रममा आउने बित्तिकै कति सरल अनि सहज हुनुहुन्छ यो सबै प्रेमको खेला हो।

३)   समाजसेवा:

समाज सेवाको नमुना रूप देख्न पाइन्छ यहाँ, केही नभएका, केही नभएका, उनीहरूको सेवामा समर्पित भएर लागेको यो सेवा।कपाल दारी पाके पछि, सेवा निवृत्त भएपछि होइन समाज सेवाको कार्य युवा अवस्थामा नै गर्नु पर्छ भन्ने भावना गाउँदछ। भर्खर २०- २१ लागेका युवाहरूले गरेको सेवा ले समाजको परिवर्तन लाई नजिकबाट नियाल्न सकिनेछ। सेवाको सुरुवात कसरी गर्ने, कस्ता कस्ता बाधा अड्चनहरू सेवाको क्रममा आउँछ भन्ने कुरा यहाँ भ्रमण गरिरहँदा यहाँका अभियन्ताहरूले सुनाउनेछन् । सबैका आँखा रसाउने छन्।    

४)   सङ्कल्प शक्तीः

सपना पुरा गर्ने सङ्कल्प कसरी लिने, स्रोतको अभावमा होइन सोचको अभावले मानिस असफल हुन्छ भन्ने भावना यो सेवा ले दिनेछ। नेपालीहरूको मात्र आर्थिक, नैतिक तथा भौतिक सहयोगले पनि गर्न सकिन्छ र भन्ने प्रश्नको उत्तर मानवसेवा आश्रमको सेवाले दिनेछ। आत्मा बल र मनोबलको भरमा देशै भरी रहेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त देशको परिकल्पना पुरा हुँदै गरेको छ। धेरै विकल्प नलिईकन सङ्कल्पलाई प्रथम स्थान दिने हो भने जस्तो सुकै सेवा पनि पुरा गर्न सकिन्छ। हात खुट्टा नचल्ने बाबा आमा सङ्कल्प शक्तिका कारण, प्रार्थना र शुभ भावनाले ठिक हुनुभएको पाउनु हुनेछ।

५)   मानवता:

यहाँको मूल सिकाई मानवता हुनेछ। गल्ती माथि गल्ती गर्ने लाई पनि प्रेम भावले हेर्न सक्नु, सबै जनालाई परिवारको सदस्यको रूपमा लिनु, असक्तहरूले गर्नु भएको दिसा पिसाबलाई पनि नघिनाई सफा गरिदिनु। सेवामा उद्धार गरेर ल्याएका अब सक्ने अवस्थामा रहनु भएकाले नसक्ने अवस्थामा रहनु हुनेलाई सेवा गर्नु। फोहोरको डङ्गुरमा रहेका, बाँधेर थुनेर रहेकालाई मानवोचित तवरबाट व्यवस्थापन गर्नु। संरक्षण, उपचार, पारिवारिक पुन मिलन गराउनु। न कुनै जात, धर्म, वर्ण वा राष्ट्रको परिधिबाट माथि उठेर सेवा गर्नु वास्तविक मानवीयता हो। यहाँको सन्देश मानवता नै धर्म हो र मानवताको कुनै सीमा हुँदैन। 

६)   राष्ट्रप्रेमः

जापान जापनिजले बनाए, चाइना चाइनिजले बनाए, अमेरिका अमेरिकनले बनाए अब हाम्रो यो सुन्दर देशको पहिचान हामी लेनै बनाउनु पर्छ। हार हरूमा होइन जीवन जीत हरूमा फुलाउनु पर्छ, हामी बाचेको सुन्दर कहानी भावी पुस्तालाई सुनाउनु पर्छमानवसेवा आश्रमले यही भावलाई जन जनमा पुर्याईरहेको छ। हामीले गर्न सक्ने सेवाका लागि हामी विदेशको आसमा होइन हाम्रो बल बुतामा उभिन सक्नु पर्छ। त्यसका लागि पहिला मानवता , समृद्धि पछि मात्र राष्ट्रियता हुने गर्दछ। (Humanity, prosperity and Nationality ) हामीले गरेका हरेक प्रयासले राष्ट्रियतालाई प्राथमिकता दिने गर्दछ। विदेशी दात्री निकायको सहयोग नलिईकन मात्र नेपालीहरूको प्रयासले देशै भरिको सेवा भइरहेको कुराले हाम्रो छाती गर्वले चौडा हुन्छ अनि सेवाका लागि नेपालमै सकिन्छ हामी नै सक्षम छौ भन्ने उदाहरण बनेको छ ।   

 

७)   आमा, बाबा र परिवारको महत्व:

यहाँ सके सम्म परिवार नभएका व्यत्तिहरुको सेवा हुने गर्दछ।धेरै व्यक्तिलाई परिवारले हाम्रा लागि केही नगरेको, गर्न नसकेको , कर्तव्य पुरा नगरेको भावना व्यक्त गर्दछन्।

धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी

तर जन्मदिने माता पिता पाइँदैन कसैगरी ......

आफ्नो परिवारको महत् बोध गराउने माध्यम हुन्छ, परिवारले हाम्रो लागि केही गरेन होइन कस्तो कस्तो प्रयत्न गर्नु भएको छ त्यसको बोध हुन्छ।

 

८)   जीवनका भोगाईहरुः

यहाँ कथै कथा छ, कहानी नै कहानी छ, जीवनका सुन्दर भोगाई नै भोगाई छ। आश्रममा रहनु भएका १६०० जनाका आफ्नै आफ्ना कहानी छन्। कोही सडकमा जन्मेका, कसैलाई सडकमा छोडेका , कत्तिले ५० औ दिन सम्म खाना नखाएका ,कत्तिले आफ्नो उमेर छउन्जेल सम्म अर्काको घरमा काम गरी बसेर वृद्धा अवस्था भएपछि आश्रममा ल्याइदिएका, कतिका छोरा छोरी अष्टेलीया, अमेरिका  रहेका छन्। जीवन सङ्घर्ष र भोगाईहरुनै रहेछ । यहाँ जो कोहीले सुपर हिट कथा पाउने छ। जीवनी र कहानी पाउने छ। मात्र तपाई हाम्रो क्षमता हुनुपर्‍यो कथा निकाल्ने, मात्र क्षमता हुनुपर्‍यो भोगाई लाई सिकाइमा परिणत गर्ने।

 

९)   नेपालमा सहयोगापेक्षी सडक मानवहरूको अवस्था:

नेपालमा सडक मानवहरूको अवस्था यहाँ आउँदा देखाइने सन्दर्भ सामाग्री, श्रव्य दृश्यले सडक मानवहरूको वास्तविक अवस्था जानकारी हुनेछ। यसले जो कोहीलाई पनि प्रभावित पर्ने छ र आँखाबाट आँसु झर्ने छ। यस्ता मानिस जो मानिसको भेषमा जन्मेर मानिस भई बाच्न नपाएकालाई सेवा गर्नुपर्ने प्रेरणा दिनेछ। निर्वस्त्र भएर पनि निर्लज्ज बनेमा निरीह ती आमा बाबाहरूको पिडालाई देख्नेछन्।

 

१०)   लक्ष्य प्राप्तिका लागि मानवसेवा आश्रमले गरेको प्रयास र समाजमा पारेको प्रभाव:

भोको पेटलाई भोजन सेवा सर्वोत्कृष्ट मानवसेवा, एक व्यक्ति एक अभिभावक, तपाईँको एक दिन मानवसेवा आश्रममा, वार्षिक भोजन सेवा दाता, एक कप चिया योगदान जस्ता अनेकौँ अभियानको जन्म पाएको छ। मेची महाकाली राष्ट्रिय उद्धार अभियान देखी राष्ट्रिय नीति बनाउनका लागि प्रयास, गौरवका योजनाका लागि गरेका प्रयास धेरै छन्। यी प्रयास हरूको केही प्रतिफल प्राप्त भएको छ भने केही प्राप्तिको चरणमा रहेको छ। तपाइ राम्रो कामको सुरुवात गर्नुहोस् तपाईँलाई सहयोग गर्ने अनेक हातहरूको जन्म हुनेछ भने जस्तै अहिले सेवाका लागि अनेकानेक व्यक्ति जोडिनु भएको छ। जन्मदिनमा मानवसेवा आश्रम जाने संस्कार बसेको छ। हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, भावलाई प्रेरणा दिई रहेको छ।


 

समग्रमा मानवसेवा आश्रम एक परोपकारी पाठशाला हो। यहाँ मानिसले अनेकौँ व्यवहारिक ज्ञान सिक्न पाउनेछन्। नदेखेको संसार देख्न पाउनेछन्। अनेकौँ सिनेमाका कहानी लेख्न पाउनेछन्। काज क्रिया गरिसकेको त्यत्ति घरमा पुग्दा कस्तो अनुभूति हुन्छ? दसकौँ हराएको व्यक्ति घरमा आउँदा कस्तो भावना जागृत हुन्छ? तपाईँले सडकमा रहनु भएको मनोरोगी बलात्कृत आमाको कथा सुन्नु भएको छ? सायद छैन हो यस्तै समाजका कहाली लाग्दा कहानीबाट बाचेका आमा बाबाको कथा यो मानवताको पाठशालामा सिकाइनेछ, देखाइनेछ र महसुस गराइनेछ। जिन्दगी दुई दिने चोला हो बाचुन्जेल गरिने कर्म मात्र हाम्रो हो। सक्ने हामीले नै गर्नु पर्छ भोली होइन आज नै र अरूका लागि होइन आफ्नो लागि हो। महाकवि देवकोटाको यो मन्दिर, जिउँदा व्यक्तिको पूजा गर्ने ठाउँ हो, सेवा गर्ने ठाउँ हो। कतिले सोच्न नसक्ने सेवा मानवसेवा आश्रमले गरेको छ। महात्मा र परमात्माको अन्त्यमा आत्मा हुन्छ। आत्मा सबै बराबर यही एक आत्माले अर्को आत्मालाई सेवा दिने पवित्र पाठशाला परोपकारी पाठशाला हो मानवसेवा आश्रम।

 

जय मानवसेवा

जय मानवता

धन्यवाद !!!

 


Post a Comment

0 Comments